IT व्यवसाय सञ्चालन गर्दै गर्दा मैले एउटा कुरा बारम्बार महसुस गरेको छु — नेपालमा प्रतिभा र अवसरको कमी छैन, समस्या प्रणालीमा छ। अन्तर्राष्ट्रिय क्लाइन्टबाट हामीले राम्रो संख्यामा project र order पाउने गरेका छौं। धेरै क्लाइन्टहरू नेपाली IT सेवा, software development र digital marketing मा विश्वास गर्न थालेका छन्। तर, काम पाउनु भन्दा ठूलो समस्या भनेको भुक्तानी प्राप्त गर्ने प्रक्रिया बनेको छ।
विभिन्न अध्ययनहरू अनुसार नेपालले IT सेवा निर्यातबाट वार्षिक सयौँ मिलियन डलर विदेशी मुद्रा भित्र्याउने सम्भावना देखाइसकेको छ। युवा जनसंख्या ठूलो भएको र डिजिटल सीप सिक्ने दर बढिरहेको कारण यो क्षेत्र भविष्यमा अझ विस्तार हुने स्पष्ट संकेत देखिन्छ। तर ground reality भने फरक छ।
मेरो आफ्नै अनुभवमा, धेरै अन्तर्राष्ट्रिय क्लाइन्टहरू PayPal वा Stripe जस्ता payment gateway प्रयोग गर्न चाहन्छन्। तर नेपालमा PayPal को पूर्ण सुविधा उपलब्ध छैन। विशेष गरी PayPal बाट सिधै नेपाली बैंक खातामा पैसा पठाउने सुविधा नहुँदा हामीले काम गरेपछि पनि payment लिन निकै जटिल प्रक्रिया अपनाउनु पर्ने हुन्छ। कतिपय अवस्थामा क्लाइन्टसँग काम गर्न सक्ने अवस्था हुँदाहुँदै पनि payment limitation का कारण project लिन नसक्ने अवस्था आउँछ।
त्यसैगरी नेपालबाट अन्तर्राष्ट्रिय payment पठाउन पनि विभिन्न बैंकिङ प्रक्रिया, अनुमति र सीमितता देखिन्छ। IT कम्पनीले software tool, subscription वा foreign service प्रयोग गर्न खोज्दा अनावश्यक झन्झट भोग्नुपर्ने अवस्था हुन्छ। यस्तो अवस्थाले Startup हरूको growth र global expansion मा प्रत्यक्ष असर पारिरहेको छ।
म जस्तै धेरै नेपाली IT उद्यमी र freelancer हरूले यस्तै समस्या भोगिरहेका छन्। नेपालमा IT क्षेत्रले रोजगारी सिर्जना गर्ने, विदेशी मुद्रा भित्र्याउने र युवाहरूलाई देशमै अवसर दिने ठूलो सम्भावना राख्छ। तर, यदि अन्तर्राष्ट्रिय डिजिटल payment प्रणाली सहज बनाउन सकिएन भने, यो सम्भावना पूर्ण रूपमा प्रयोग हुन सक्दैन।
नेपाल डिजिटल अर्थतन्त्रतर्फ अघि बढ्न सक्ने स्पष्ट सम्भावना भएको देश हो। IT Startup हरूले देशको आर्थिक विकास, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा ठूलो योगदान दिन सक्छन्। तर, payment gateway, foreign transaction नीति र बैंकिङ प्रक्रियामा सुधार नगरेसम्म IT क्षेत्रको वास्तविक क्षमता प्रयोग हुन सक्दैन।
आजको आवश्यकता भनेको Startup लाई प्रोत्साहन गर्ने व्यवहारिक नीति, प्रविधिमैत्री आर्थिक प्रणाली र अन्तर्राष्ट्रिय भुक्तानीलाई सहज बनाउने ठोस निर्णय हो। नेपालका युवाहरू सक्षम छन्, बजार पनि छ — अब आवश्यक भनेको सही नीतिगत समर्थन मात्र हो।
सिधा कुरा भन्नुपर्दा, सरकार, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र “हामीलाई भोट दिनुहोस्, देश परिवर्तन गर्छौं ” भन्ने राजनीतिक नेतृत्वले वर्षौँदेखि IT क्षेत्रको वास्तविक समस्या बुझेर समाधान गर्न नसक्नु दु:खद मात्र होइन, देशको सम्भावनालाई रोकेर राख्ने लापरवाही पनि हो।
नेपाललाई डिजिटल अर्थतन्त्रमा अगाडि लैजान जिम्मेवार निकायहरूले कहिले व्यवहारिक कदम चाल्लान?


